«

»

आजदेखि हात्ती महोत्सव

Hattiराजेन्द्र आचार्य
सौराहा, १० पुस
चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको हात्ती महोत्सवको ११ औं संस्करण आज शुक्रबारदेखि शुरु हुँदैछ । आज शुक्रबारदेखि १५ गते मङ्गलबारसम्म सौराहामा आयोजना हुने लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ ।
प्रतियोगिताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापनदेखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिए ।
हात्ती महोत्सवका लागि सौराहालाई दुलही झैं सिंगारिएको छ । सौराहाका मुख्य बजार, होटल, पार्क, रिसोर्टहरु सजाइएको छ । ध्वजा पताकाले बजार क्षेत्र सिंगारिएको छ ।
चितवन हात्ती महोत्सवको ११ औं संस्करण भव्य समारोहकाबीच वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ । बाजागाजा र स्थानीय भेषभुषा सहितको ¥यालीले सौराहा बजार परिक्रममा गरि मन्त्री आचार्यले सिठ्ठी फुकेर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महोत्सव उद्घाटन भईरहँदा माथि आकाशबाट एबिया क्लब पोखराको अल्ट्राफ्लाईटबाट झण्डोत्तोलन र पुष्पवर्षा गरिने छ । प्रतियोगिता स्थलमा पर्यटकहरुको सुविधाका लागि पाँच सय जना अट्ने मिनि स्टेडियम तयार गरिएको छ ।
प्रतियोगितामा हात्ती दौडको उपाधिका लागि अष्ट्रेलिया, जापान, सोलोभाकिया, बेलायत सहितका ६ विदेशी टिम र १४ वटा घरेलु टिम पहिलो चरणको खेलका लागि मैदानमा उत्रिने छन् । यस वर्ष हात्ती दौडमा हात्ती उपाधिका लागि मात्र एक सय ५० मिटर दुरी एकहोरो रुपमा पार गरि उपाधिका लागि छनौट गर्ने व्यवस्था गरिएको हात्ती व्यवस्थापन समितिका संयोजक बलराम दाहालले जानकारी दिए ।
यसैगरि यस वर्ष देखि थप गरिएको हात्ती वनभोज कार्यक्रममा एक सय भन्दा बढी हात्ती सहभागी हुने र तिनलाई रुची अनुसारको सख्खर, धान, केरा, काउली, बन्दा, उखु, स्याउ, गाँजर, सुन्तला खुवाउने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक भेषराज दुवाडीले जानकारी गराए । शनिबार आयोजना हुने हात्ती वनभोजका लागि एक सय ६० मिटर लामो टेबल पनि निर्माण गरिएको छ ।
२०६६ सालको हात्ती दौडको बिजेता लक्कीकली, २०६८ देखि लगातार रुपमा बिजेताको उपाधि दिलाउन सफल रहेको बहादुर गज यसपालि पनि मैदानमा उपाधिका लागि सहभागी हुने भएपछि आज शुक्रबार हुने खेल निकै मह¤वपूर्ण हुने महोत्सवका संयोजक सुमन घिमिरले बताए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हुने महोत्सवमा १२ टाँगाका १२ टीम, २० वटा गाडा दौडका टीम र १० वटा टीम डुङ्गा दौडका लागि सहभागी हुने संघका सचिव एवम् प्रचार–प्रसार समितिका संयोजक दामोदर रेग्मीले बताए ।
हात्ती महोत्सवको निकै आकर्षणको रुपमा रहेको हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल प्रतियोगितामा वाईवाई चाउचाउ, प्रभु बैंक, टान नेपाल र ग्राण्डी हस्पिटल गरि चार टीम र हात्ती सुन्दरी प्रतियोगिताका लागि पाँच वटा हात्ती सहभागी हुने महोत्सवका मिडिया संयोजक तेजेन्द्रनाथ लामिछानेले जानकारी दिए ।
महोत्सवमा ५० वटा व्यवसायिक र संरणमूलक स्टल राखिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्षेत्रिय होटल संघ सौराहाका कोषाध्यक्ष एवम् आर्थिक समिति संयोजक अन्जनकुमार पाण्डेले जानकारी दिए ।
प्रतियोगिताको आन्तरिक र बाह्य गरी डेढ लाख भन्दा बढि पर्यटकले अवलोकन गर्ने एवम् दुई करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
हात्ती दौड प्रतियोगिताको अवसरमा सौराहा आउने पर्यटकलाई होटेलको कोठामा ३० प्रतिशत र खानामा २० प्रतिशत प्रतिशत छुटको व्यवस्था मिलाईएको महोत्सवका संयोजक सुमन घिमिरेले बताए ।
प्रतियोगिता अवधिभर दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति समेत रहनेछ । हात्ती महोत्सवको आकर्षणले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लागेको संघका कार्यालय सचिव मनोज सुनारले बताए ।
यो वर्ष प्रतियोगिता अवधिमा विदा समेत परेकोले गत वर्ष भन्दा २० प्रतिशतले आन्तरिक पर्यटक बढ्ने प्रतियोगिता संयोजक घिमिरेको अनुमान छ ।