«

»

द रेन्जको ‘प्रमोशन’ लुम्बिनीबाट

IMG_7750सञ्चारपत्र सम्वाददाता
लुम्बिनी, १८ मंसिर
एसियाको ज्योती भनेर चिनिने भगवान गौतम बुद्धको बारेमा केन्द्रित रहेर निर्माण गरिएको नेपाली चलचित्र ‘द रेन्ज’को प्रमोशन (प्रबर्धन) बिहीबार लुम्बिनीबाट सुरु गरिएको छ । चलचित्र निर्माता, निर्देशक, प्रस्तुतकर्ता तथा कलाकारसहितको टोलीले बिहीबार लुम्बिनीमा शान्तिको कामना गर्दै दीप बालेपछि चलचित्रको प्रमोशन सुरु गरिएको हो ।
प्रमोशनपछि पत्रकार सम्मेलनमा चलचित्रका प्रस्तुतकर्ता पिताम्बर आचार्यले भगवान गौतम बुद्धको बारेमा रहेर चलचित्र द रेन्ज निर्माण गरिएको कारण यसको प्रमोशन लुम्बिनीबाट गरिएको बताए । ‘मानिसले अन्जानमै भएपनि गल्ती गर्नु हुँदैन, यसले पीडा दिन्छ’ आचार्यले भने– ‘हामी सबैले बुद्ध वाणीलाई ध्यान दियौँ भने देशमा दीर्घकालिन शान्ति स्थापना हुन्छ ।’
उक्त पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक राम नेपालले देशमा पछिल्लो समय छाडा प्रवृत्तिको चलचित्र निर्माण हुन थालेका कारण आफूहरुले फरक धारको चलचित्र निर्माण गरेको बताए । ‘पछिल्लो समय युवाहरुलाई लक्षित गर्दै चलचित्र निर्माण गर्न थालिएको छ’ नेपालले भने ‘हामीले सबै खालका दर्शकहरुको लागि पाच्य हुने तथा भगवानको अलौकिक शक्तिलाई लिएर चलचित्र बनाएका छौँ ।’
चलचित्र मध्य भागसम्म कमेडी रहेपनि मध्यान्तरपछि भने कथाले गम्भीर रुप लिने नेपालले बताए । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनको लागि पनि यस चलचित्रको कथा आफूले तयार पारेको निर्देशक नेपालले बताए ।
लुम्बिनीमा भएको पत्रकार सम्मेलनमा चलचित्र निर्माता डम्मर गिरी, गगन गिरी लगायतले आफ्ना भनाई राखेका थिए । पुस ४ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनको तयारीमा रहेको चलचित्र द रेन्जमा गणेश उप्रेती, पिताम्बर आचार्य, लोकेन्द्र वली, राज क्षितिज, सुनिता आचार्य, दीपा थापा, निशा सुनुवारलगायतका कलाकारको भूमिका रहेको छ ।