«

»

चितवनमा विद्यालय बन्द गर्न शिक्षककै आलोपालो

सविता श्रेष्ठ

भरतपुर, १८ भदौ

– मुख्य माग ः तलब वृद्धि
– ६१ हजार विद्यार्थी विद्यालय जान पाएनन्
– अभिभावक संघ भन्छ– विद्यार्थीलाई निशाना नबनाउ
– माग वार्ताबाट समाधान गर्न सकिन्छ ः प्याब्सन
– जिशिअको ठहर ः विद्यालय बन्द गर्नु गलत

sunriseसंस्थागत विद्यालय शिक्षक युनियन इष्टु नेपाल, चितवनले मंगलबार चितवनका नीजि विद्यालयहरुकोे पठनपाठन बन्द गरेको छ । तलब वृद्धि गर्नुपर्ने मुख्य माग राख्दै इष्टु नेपालले विद्यालय बन्द गरेको हो ।
जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार इष्टु नेपालको बन्दका कारण जिल्लाका १ सय ६६ वटा नीजि विद्यालयहरु बन्द भए । बन्दका कारण नीजि विद्यालयमा अध्ययनरत करिब ६१ हजार विद्यार्थीहरु विद्यालय जान पाएनन् ।
नेपाल सरकारको शिक्षा नियमावली अनुसारको सेवा सुविधा नीजि विद्यालयका शिक्षकहरुले पनि पाउनुपर्ने माग राखेर स्कुल बन्द गरिएको इष्टु नेपाल चितवनका संघर्ष समिति संयोजक विजय पाण्डेले जानकारी दिए । गत साउन १ गते प्याब्सन चितवनलाई दिएको पाँच बुँदे मागको बारेमा कुनै सुनुवाई नभएकोले विद्यालय बन्द गरिएको उनले बताए ।
आन्दोलनरत इष्टुले माग पुरा गर्न दवाव दिनको लागि यसअघि प्याब्सनको कार्यालयमा पनि तालाबन्दी गरेको थियो । प्याब्सन तथा जिल्ला शिक्षा कार्यालयसँग भएका वार्ताबाट शिक्षकहरुको माग पुरा नभएकोले विद्यालय बन्द गरिएको संयोजक पाण्डे बताउँछन् ।  
इष्टु चितवनले विद्यालय बन्दको क्रममा विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको ग १ ख २५२५ नम्बरको बस नियन्त्रणमा लिएको थियो । कक्षा सञ्चालन भएका नीजि विद्यालयहरुमा भने इष्टु चितवनका शिक्षकहरु पुगेर विद्यालय पूर्ण रुपमा बन्द गराएका थिए ।
तलब वृद्धि लगायतका पाँच बुँदे मागप्रति प्याब्सन चितवनले बेवास्ता गरेको इष्टु नेपाल चितवनका संघर्ष समिति संयोजक विजय पाण्डेले बताए । आफ्ना मागहरुको बारेमा जिल्ला शिक्षा कार्यालय र प्याब्सन चितवनसँग सोमवारको वार्ता बिना निष्कर्ष टुङ्गिएकोले विद्यालय बन्द गरिएको संयोजक पाण्डेले जानकारी दिए ।
संस्थागत विद्यालय अभिभावक संघ चितवनले विद्यालय बन्दको विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र न्यौपानेले प्रेस विज्ञप्ती मार्फत वार्ताबाट मागहरु समाधान गर्न आग्रह गरेका छन् । ‘माग पुरा गर्न भन्दै स्कुल बन्द गर्नु प्रक्रिया नै गलत हो’ संघका अध्यक्ष न्यौपानेले भने – ‘विद्यार्थीलाई आफ्नो निशाना बनाउनु भएन ।’ विद्यालयमा पढाई रोकिइरहँदा विद्यार्थीहरुमा पाठ्यक्रमको भार पर्ने उनले बताए ।
प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ नीजि विद्यालयका शिक्षकहरुको माग वार्ताबाट समाधान गर्न सकिने बताउँछन् । ‘तलब बढाउने उहाँहरुको प्रमुख माग छ’ अध्यक्ष गुरुङ भन्छन्– ‘विद्यालयमा विद्यार्थी शुल्क नबढाई तलब बढाउन सक्दैनौं ।’ विद्यालयको शुल्क तोक्ने काम जिल्ला शिक्षा कार्यालय अन्तर्गतको शुल्क निर्धारण समितिले गर्ने उनी बताउँछन् ।
विद्यालयको पठनपाठन नै बन्द गर्नु शिक्षकको दायित्व भन्दा बाहिरको काम भएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार शिक्षा कार्यालयसँग मिलेर कार्यदल बनाएर वार्ता मार्फत मागहरुको सकेको सम्बोधन गर्न प्याब्सन चितवन तयार छ ।
जिल्ला शिक्षा कार्यालय, चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा समस्या समाधानको बाटो मान्दै विद्यालय बन्द गर्नु गलत भएको बताउँछन् । विद्यालय बन्द गर्दा विद्यार्थीलाई मात्र नभएर शिक्षकहरुलाई पनि घाटा  हुने उनले बताए । विद्यार्थीलाई पढाउने शिक्षकले नै विद्यालय बन्द गराउँदा विद्यार्थीहरुमा नकारात्मक असर पर्ने बताउँदै उनले वार्ता मार्फत समाधानको लागि आग्रह गरेका छन् ।

दुई इष्टुको दोहोरो बन्दको मारमा विद्यार्थी
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन, नेपाल इष्टुको चितवन समिति र संस्थागत विद्यालय शिक्षक युनियन इष्टु नेपालको चितवन समितिको दोहोरो मारमा चितवनका विद्यार्थी तथा अभिभावकहरु परेका छन् । नीजि विद्यालयमा कार्यरत शिक्षकहरुको हितको लागि आन्दोलन गर्ने भन्दै दुवै समितिले चितवनका निजी विद्यालयहरु बन्द गर्न थालेका हुन् ।
इष्टु नेपाल चितवन समितिले मंगलबार विद्यालय बन्दको आयोजना ग¥यो भने नेपाल इष्टु चितवनले बुधबार नीजि विद्यालय बन्द गर्ने र जिल्ला शिक्षा कार्यालयमा दुई घण्टा धर्ना दिने जनाएको छ । माग सम्बोधन नभएको भन्दै भदौ १ गते सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत भदौ १९ गते चितवनका निजी विद्यालय बन्द गरिने नेपाल इष्टु चितवन समितिका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए । समितिको मंगलबार प्याब्सन तथा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरुसँग भएको वार्तामा मागहरुको बारेमा निष्कर्ष नआएपछि बन्दको कार्यक्रम यथावत गरिएको अध्यक्ष भुजेलको भनाई छ ।
मागहरु उस्तै भए पनि दुवै समितिको भिन्दा भिन्दै आन्दोलनले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरु दुविधामा छन् । निजी विद्यालयमा कार्यरत शिक्षकको तलब भत्ता वृद्धि तथा नेपाल सरकारको शिक्षा नियमावली अन्तर्गतका सेवा सुविधा पाउनुपर्ने लगायतका माग राख्दै दुवै समितिले छुट्टा छुट्टै आन्दोलन गरिरहेका छन् । इष्टु नेपालले पाँच बुँदे माग साउन १ गते र नेपाल इष्टुले १७ बुँदे माग साउन २१ गते प्याब्सनलाई बुझाएको जनाएका छन् ।
गत बर्षको साउनमा चितवन जिल्लामा भएको जिल्ला अधिवेशनमा मतभेद भएपछि चितवनमा दुईवटा इष्टु बनेको हो । इष्टु नेपाल चितवनका अध्यक्ष विष्णुहरी थापा र नेपाल इष्टु चितवनका अध्यक्ष विष्णु भुजेल छन् । एउटै प्रकारको माग भएपनि दुई वटा समितिसँग छुट्टाछुट्टै छलफल गरेर निष्कर्ष निकाल्न समस्या भएको प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ बताउँछन् ।