«

»

बियरका पारखीहरुको देश, चेक गणराज्य :जीवा लामिछाने

गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष जीवा लामिछानेद्वारा फेसवुकका साथीहरु विच वाड्नु भएको उहाँको चेक गणतन्त्रको भम्रणसंग सम्वन्धित यात्रा निवन्ध पाठका जानकारी का लागि जस्ताको त्यस्तै राखिएको छ ।।सं।

१३.०४.२०१३ //गैर आवासीय नेपाली संघको ६५ औं राष्ट्रिय समन्वय परिषद स्थापनाका लागि चेक गणराज्यवाट निमन्त्रणा आएकोले एनआरएनए युरोपका संयोजक कुमार पन्तजी, लन्डन निवासी मित्र पशुपति भण्डारीजी, रमेशअर्याल जी र म चेक गणराज्यको राजधानी प्राग पुग्यौं ! यो भन्दा अघि पनि सन २००८ मा एक पटक सपरिवार प्राग पुगेको थिएँ ! तर १० दिनको हाम्रो त्यो तुफानी यात्रामा युरोपका केहि शहरहरु भ्रमण गर्ने हाम्रो पुर्व योजना मुताविक १ दिन भन्दा बढी प्राग घुम्ने अवसर त्यतिबेला नजुरेकोले दन्त्यकथा जस्तो लाग्ने युरोपको यो सुन्दर शहर घुम्ने धित मरेको थिएन ! शोभियत संघमा सन १९८६ मा अध्ययन गर्न आए देखि नै चेक गणराज्य र यसको राजधानी शहर प्रागको बारेमा केहि कुराहरु सुनेको थिएँ ! तत्कालिन समयमा शोभियत जनताहरुलाई सरकारी कामकाजमा बाहेक प्राय: पुजिवादी देशहरुमा भ्रमण गर्न बर्जित थियो ! चेकोस्लोभाकिया लगायत अन्य वार्सा सन्धि संगठनका राष्ट्रहरुमा भने छुट्टि मनाउन उनीहरु निक्कै जाने गर्थे ! रुस आगमनको पहिलो बर्षमा मेरो रुसी भाषाकी अध्यापिका ल्युदमिला त्रयुत्नेभावाट प्राग स्प्रिंग का बारेमा केहि कुराहरु थाहा पाएको थिएँ ! पछि मस्को सिभिल ईन्जिनियारिंग युनिभर्सिटीमा पढदा चेकोस्लोभाकिया कि रेनाता नामकी एक जना सहपाठीवाट पनि चेकोस्लोभाकिया र त्यस देशका बारेमा थप कुराहरु जान्ने अवसर मिल्यो ! प्राय: सबै थरिका उपभोग्य सामानहरुको सधैं अभाव भई रहने सोभियत संघमा चेकोस्लोभाकियामा निर्मित क्रिस्टलका सामानहरु कुनै पसलमा बिक्रि हुन लागेको थाहा भयो भने हामीहरु घन्टौं सम्म क्यु बसेर भए पनि सामानहरु किनी छाडथ्यौं ! क्यु मा बसेर किनेका त्यस्ता सामानहरु यदि आफुलाई नचाहिने हो भने पसलवाट बाहिर निस्कनासाथ त्यति बेला नै दोब्बर मुल्यमा बेच्न समेत सकिन्थ्यो ! मेरा सहपाठी मित्र दीपक कंसाकार र म क्लास सकिए पछि त्यो समय दुर्लभ मानिने त्यस्ता सामानहरुको खोजीमा प्राय: हरेक हप्ता मस्कोका पसलहरु चाहार्ने गर्थ्यौं ! लेनिन्स्की प्रस्पेकट, मस्कोको प्रागा नामको पसलमा निक्कै बेर क्यु बसेर किनेका चेक निर्मित बोहेमिया ब्र्यांडका क्रिस्टलका केहि ग्लास तथा व्हिस्की सेटहरु अझैं पनि म संग सुरक्षित छन !Praag, Tsjechië

मस्कोवाट फ्रान्कफर्ट अवतरण गर्दा दिउसो १ बजेको थियो ! पशुपतिजी लन्डनवाट २ दिन अघि नै फ्रान्कफर्ट आई पुग्नु भएको रहेछ ! फ्रान्कफर्टवाट प्राग सम्मको ५५० किमी दुरी गाडीबाट नै पार गर्ने हाम्रो पुर्व योजना थियो ! जर्मनीका चिल्ला सडकहरु लामो गाडी यात्रा गर्न रुची राख्नेहरुका लागि बिस्व प्रसिद्द छन ! जर्मनीका राजमार्गहरुमा प्राय ड्राईभिंग स्पीड नियन्त्रण गर्नु नपर्ने भएकोले युरोपका अन्य देशहरुवाट समेत गाडी ड्राइभिंगका पारखीहरु जर्मनीमा ड्राईभिंग गर्न आउने गर्छन !

कार्लोभी भारि प्रागभन्दा १३५ कि मि वरै पर्ने र फ्रान्कफर्टवाट प्राग जाँदा बाटोमा नै पर्ने भएकोले हामी चेक गणराज्यको अर्को एउटा पर्यटकीय शहर कार्लोभी भारी हुँदै जाने निर्णय गर्यौं ! कार्लोभी भारि अर्थात् कार्लस्बाद युरोपमा हट स्पा का लागि प्रसिद्ध पर्यटकीय नगरी हो ! १९ औं सताब्दी देखि नै स्पा ट्रीटमेन्ट (तातो पानीमा नुहाएर गरिने एक प्रकारको उपचार पद्दति) का लागि युरोपवाट यहाँ पर्यटकहरु आउने गर्दथे ! यहाँको होटेल तथा रिसोर्टहरुले हट स्प्रिंगवाट पर्यटकहरुलाई यस्तो सुबिधा उपलब्ध गराउछन ! जापानको हाकोने राष्ट्रिय निकुन्जमा हट स्प्रिंगको यस्तो आनन्द लिने अवसर केहि बर्ष अघि मिलेको थियो ! हाकोने मा जस्तो सजिलै संग होटेलहरुमा हट स्पा गर्ने सुबिधा भने यहाँ उपलब्ध नहुँदो रहेछ ! तर शहरको मुख्य बाटो भरि यात्रुहरुलाई हट स्प्रिंगवाट आएको नुनिलो पनि पिउनका लागि धाराहरुको निर्माण गरिएको रहेछ ! ६० डिग्री तापक्रमको पानी आउने सडकका तिनै धाराहरु वाट अन्जुलीमा उठाएर हामीले त्यो नुनिलो पानी पियौं ! साथमा पानी थाप्ने बोतल वा अरु कुनै भाँडो नभएकोले बिशेष प्रकारको त्यो नुनिलो पानी धित मर्ने गरेर पिउन भने सकिएन ! बोतल किन्नका लागि नजिकका पसलहरु हामीले नचाहरेका पनि होइनौ, तर सनिवार परेकोले ती सबै बन्द थिए त्यसदिन ! डाँडाको फेदमा रहेको जम्मा ५५,००० जनसंख्या सहित को यो सहर निकै कलात्मक लाग्यो मलाई !

भोलि पल्ट बिहानै पशुपतिजीलाई प्रागवाट लन्डन उड्नु पर्ने भएकोले केहि बेर कार्लोभी भारी सहर घुमेर राती नै प्रागको भास्लाभ हावेल एयरपोर्ट नजिकै होलिडे ईन्न होटेलमा हामी बास बस्न पुग्यौं ! म त्यति बियर प्रेमी मानिस त होइन, तर पनि चेक गणराज्यमा आएर बियरको अनुभव त लिनै पर्ने भयो ! ययरपोर्ट भित्रको एउटा रेस्टुरेन्टमा राती ३ बजे सम्म बियर संग गफमा रुमल्लिदै नयाँ बर्ष २०७० लाई हामीले स्वागत गर्यौं ! कुरा मिल्ने ४ जना साथीहरु संग समय बितेको पत्तै नहुँदा अमिताभ बच्चनको जहाँ चार यार मिल जाए उहाँ रात हो गुल्जार भन्ने गीत याद आयो ! चेक गणराज्य पनि बियर पिउनेहरुका लागि जर्मनी जस्तै प्रख्यात ठाउं हो ! प्रति ब्यक्ति कसले बढी बियर पिउछ भन्ने कुरामा जर्मन र चेक जातिहरुका बिच अघोसित प्रतिस्प्रधा नै हुने गर्छ रे ! यहाँका साना साना सहरहरुमा समेत आफ्नै ब्राण्डको बियर उत्पादन र खपत गर्ने चलन छ ! अमेरिकाको प्रख्यात बियर बड वाईजर को उद्गम स्थल समेत चेक गणराज्यको बड वाईज भन्ने शहर हो भन्ने यहाँका मानिसहरुको तर्क छ ! बड वाईजर बियरको पाटेंटशिप अमेरिकनहरुले आफ्नो नामका दर्ता गराएको बिषयलाई लिएर बिवाद चली रहेको छ पनि भन्ने कुरा पनि यहाँ सुनियो !

१४.०४.२०१३

मिटिंग प्राग शहरको एउटा ईन्डियन रेस्टुरेन्टमा आयोजना गरिएको थियो ! नयाँ बर्षको पहिलो दिन भएर होला चेक गणराज्यमा बसोबास गर्ने झण्डै १५० जती नेपालीहरुको उपथिती थियो त्यहाँ ! केहि स्थानीय चेक नागरिकहरु पनि आएका थिए ! सागर ढकालजीको याक एंड एती रेस्टुरेन्टमा पनि केहि नेपाली हरुले छुट्टै रुपमा नयाँ बर्ष मनाइ रहनु भएकोले हामी त्यहाँ पनि एक क्षण उपस्तिथ भयौं ! झण्डै ३०० जति नेपालीहरु चेक गणराज्यमा बसोबास गरेको अनुमानित तथ्यांक साथीहरुले बताउनु भयो ! सन १९९० अघि देखिनै फाट्टफुट्ट केहि नेपालीहरु चेकोस्लोभाकियामा अध्ययन गर्न आउने गरेका रहेछन ! प्राग भन्दा बाहिरको बुडवाईज भन्ने सहरमा ब्यबसाय गरेर बस्नु हुने जितेन्द्र रायमाझीजीको अध्यक्षता १३ सदस्यीय राष्ट्रिय समन्वय परिषद, चेक गणराज्य गठन भयो ! गैर आवासीय नेपाली संघको यो ६५ औं राष्ट्रिय समन्वय परिषद हो ! रायमाझीजी र उहाँको ग्रुपमा मात्रै ६० भन्दा बढी नेपालीहरु आवद्ध हुनु हुन्छ भन्ने थाहा पाउँदा खुसि लाग्यो !

चेक गणराज्य र राजधानी प्राग शहरको बारेमा अब अलिकति केहि चर्चा गर्छु !

१३ लाख जनसख्या रहेको चेक गणराज्यको राजधानी प्राग सहर कुनै समय रोमन साम्राज्यको राजधानी समेत मानिन्थ्यो ! प्रथम बिस्व युद्धमा अस्ट्रो- हंगेरियन साम्राज्यको पतन संगै चेकोस्लोभाकियाको जन्म भयो ! दोस्रो बिस्व युद्धमा सन १९३९ देखि १९४५ सम्म नाजी जर्मनीको अधिनमा रहेको चेकोस्लोभाकिया दोस्रो बिस्व युद्ध पछि पोस्टडाम सम्झौता बमोजिम सोभियत संघ नजिकको खेमामा पर्न गयो ! सन १९४२ मा नाजी जर्मनीका एक शक्तिशाली सैनिक रिन्हार्ड हाईड्रीखको प्रागमा हत्या भएको थियो ! शीत युद्ध कालिन चेकोस्लोभाकियामा सन १९६७ मा पहिलो पटक लेखकहरुको एक भेलाले चेकोस्लोभाकियामा शोभियत आधिपत्यको खुलेर बिरोध गर्यो ! सन १९६८ मा चेकोस्लोभाकियन कम्युनिस्ट पार्टीका प्रथम सचिव अलेक्जंदर दुब्चेकले सोभियत संघ लगायत वार्सा सन्धि संगठनका अन्य सदस्य राष्ट्रहरुको बिरोधका बाबजुद चेकोस्लोभाकियामा राजनैतिक र आर्थिक सुधार सुरु गरे पछि अन्य साम्यबादी देशहरुमा भन्दा मानिसहरुले केहि स्वतन्त्रता उपभिग गर्न थाले ! त्यसलाई १९६८ अगस्ट २० को एकै रातमा २ लाख वार्सा सन्धि संघठनका सैनिक र २ हजार ट्यांकको मदतले निर्ममता पुर्वक दमन गरिएको थियो ! ईतिहासको त्यहि कालो दिनलाई प्राग स्प्रिंग भन्ने गरिन्छ ! वार्सा सन्धी संघठन राष्ट्रका नेताहरु मध्ये त्यसबेला प्राग स्पिरंग को बिरोधमा बोल्ने रुमानियाका रास्ट्रपति निकोलाई चाउचेस्कु मात्रै थिए ! मखमली क्रान्ति ( भेल्भेट रेभोयुलिशन ) पछि सन १९९३ मा चेकोस्लोभाकिया दुई छुट्टा छुट्टै स्वाधीन राष्ट्रहरु चेक र स्लोभाक गणराज्यमा बिभाजन भयो ! प्रागवाट सुरु भएको यो रंगिन क्रान्ति ( कलर रिभ्योलुशन ) को सिको गर्दै पुर्व शोभियत संघका केहि राष्ट्रहरुमा पनि सान्तिपूर्ण तवरले सत्ता परिवर्तन भएका थिए ! कलर रिभोल्युसनका रुपमा युक्रेनको ओरेन्ज रिभोल्युशन, जर्जियाको रोज रिभोल्युशन र किर्गिजस्तानकोको ट्युलिप रिभोल्युसन प्रसिद्द छन ! सन २०११ मा क्यान्सरवाट दिवंगत भएका चेक गणराज्यका पुर्व रास्ट्रपति भास्लाभ हावेल त्यस्ता राजनेता थिए जसको राजनैतिक निष्ठाका कारण हाबेल र उनको देश चेक गणराज्यको नाम भावी पुस्ताले कैयौं बर्ष सम्म सम्झी रहनेछ ! संसार भरि भास्लाभ हावेल एक आदर्शवादी नेताको रुपमा सम्मनित भए पनि पछिल्लो समयमा भने उनले दोश्रो बिस्व युद्ध पछि जर्मन मुलका चेक नागरिकहरु प्रति राज्यले गरेको ब्यब्यहार गलत थियो भनेकोले अलि कम पपुलर छन भन्ने कुरा नेपाली साथीहरु वाट सुनियो !

बिस्व सम्पदा सुचिमा रहेको प्रागको सौन्दर्यता, यहाँका अनगिन्ति संग्रह्लायाहरु, दरबार एबं कलात्मक भवन र प्रसिद्ध चार्ल्स पुल, अनुकुल हावा-पानी आदिका कारण प्राग युरोपको प्रसिद्द पर्यटकीय गन्तब्य स्थल बन्दै गएको छ ! पर्यटक भ्रमणको संख्या हिसाब गर्दा प्राग युरोपको छैठौं ठुलो सहरमा पर्दो रहेछ ! भिजिट नेपाल वा रु कुनै त्यस्तै चर्को नारा दिंदा समेत हामीले अझैं १० लाख पर्यटक प्रति बर्ष भित्रयाउने लक्ष पुरा गर्न सकेका छेनौ तर युरोपको यो सानो सहरमा भने प्रति बर्ष ५० लाख भन्दा बढी पर्यटकहरुले भ्रमण गर्दा रहेछन, कता कता मलाई भने इर्श्या लाग्यो !